बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर अभिनेता पल शाह रिहा भएका हुन् ।
नाबालिग बलात्कारको आरोप लागेपछि २०७८ साल फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका उनी आज फागुन १५ गतेका दिनमै रिहा भएका हुन् ।

अभिनेता शाहलाई लीन उनका वकिल कमला मोहन वाग्ले, परिवारका सदस्य र केही साथी तनहुँको कारागार गएका थिए । उनीहरूले खादा र माला लगाएर अभिनेता पलको स्वागत गरेका थिए ।
उनलाई स्वागत गर्न संगीतकार योगेश काजीसहित केही फिल्म कर्मी कारागार पुगेका थिए । उनी रिहा भएको हेर्न तनहुँ कारागारबाहिर सर्वसाधारणको भीड लागेको थियो । कारागार बाहिर उभिएका फ्यानलाई हेरेर अभिवादन गरिरहेका उनी निकै खुसी देखिन्थे । उनलाई बहिनी रोशनीले गाडीसम्म आइ पुग्न साथ दिएकी थिइन् । छोटो कपाल, कालो ज्याकेटमा मुस्कुराउँदै बाहिर निस्किदैं गर्दा फ्यानले खुसी व्यक्त गर्दै अभिनेता पलको पक्षमा नारा बाजी समेत गरेका थिए ।
एक गायिकाले सुटिङको क्रममा शाहले आफूलाई बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । त्यसपछि ती गायिकाले नवलपरासी पूर्वको एक रिसोर्टमा पनि २०७७ चैत ७ गते आफूमाथी शाहले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् । त्यसपछि शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो ।
उनलाई तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पूर्वी नवलपरासी जिल्ला अदालतले भने साढे दुई वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश दिएको थियो । त्यस विरुद्ध शाहले पुनरावेदन दिएका थिए ।
आइतवार न्यायाधीश द्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले शाहमाथि लागेको अभियोगमा सफाइ दिने फैसला गरेको थियो । आइतवार कार्यालय समय सकि सकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिलाइ भएकोले शाह सोमवार रिहा भएका हुन् । अभिनेता पल शाहले कष्टकर समयमा पनि आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन् । कारागारबाट रिहा हुँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद ।
भिडियो हेर्नुहोस्