विवाह भएको ७ महिनामै झुण्डिएको अवस्थामा शव भेटियो

काठमाडौँको चन्द्रागिरी नगरपालिका-२ चिसापानीमा एक महिला घरनजिकै रुखमा झुन्डिएको अवस्थामा फेला परेकी छिन् ।अन्दाजी २५ वर्ष उमेरकी दीपा पराजुली थापा घरनजिकको रुखमा झुण्डिएको अवस्थामा मङ्गलवार बेलुका मृत अवस्थामा फेला परेको प्रहरी वृत्त थानकोट प्रमुख डिएसपी डिल्ली नारायण पाण्डेले केटिएम दैनिकलाई बताए ।

मृतक महिलाको करिब सात महिला अघि सोही स्थानका आयुष भनिने सुन्दर थापासँग विवाह भएको थियो । माइती पक्षले विवाह पछि मृतकलाई दाइजोको विषयमा निरन्तर मानसिक यातना दिइँदै आएको दाबी गरिरहेका छन् ।


मृतकका बुबा रतन पराजुली आफ्नी छोरीलाई हत्या गरेर रुखमा झुन्ड्याइएको बताइरहेका छन्। मृतकको शव पोस्टमार्टमको लागि महाराजगन्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ ।

पाण्डेले केटिएम दैनिकलाई दिएको जानकारी अनुसार मृतक महिलाको श्रीमानको कलकीमा पसल छ । घटना भएको दिन घरमा सासू ससुरा पनि थिएनन् । श्रीमान् बिहानै पसल आएका थिए । उनले घरमा फोन गर्दा सुरुमा फोन उठेन । त्यसको करिब २/३ घण्टापछि फोन गर्दा पनि फोन नउठेपछि उनले छिमेकीलाई फोन गरेर, ‘मेरो घरको फोन उठेन कोही पनि छैन कि क्या हो ?’ गएर हेरिदिनु भनेर पठाएका थिए ।

छिमेकी घरमा जाँदा कोही पनि नभएको बताएपछि उनी दिउँसो तीन बजेतिर पसलबाट घर आइपुगे । घरमा श्रीमती नदेखेपछि गाउँका मानिससहित खोज्दै जाँदा श्रीमती घरनजिकको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

पाण्डेले भने, ‘माइती पक्षले हत्या गरेर रुखमा झुण्डाएको दाबी गर्दै प्रहरीमा उजुरी दिन खोज्नुभएको थियो हामीले आत्महत्या दुरुत्साहन मुद्दा हाल्नुहोस् पोस्टमार्टम रिपोर्ट नआईकन कर्तव्य ज्यान अन्तर्गत मुद्दा चलाउन सक्दैनौ भनेपछि उहाँहरूले किटानी जाहेर नदिईकन सामान्य उजुरी दिनुभएको छ ।

मृतकका आफन्तले घटनाको सत्य तथ्य छानबिन नभएसम्म शव नबुझ्ने अडान लिएका छन् । यसैबीच, आफन्तले बुधवार अपराह्न ५ बजे त्रिभुवन राजमार्ग अवरुद्ध पारेका थिए।चन्द्रागिरी नगरपालिकाको गुर्जुधारमा उनीहरूले दोषीमाथि हदैसम्मको कारबाहीको माग गर्दै सडक अवरुद्ध पारेका थिए ।

विवाह गरेका महिलाहरूले झुण्डिएर आत्महत्या गरेका धेरै घटनाहरू सार्वजनिक भइरहन्छन् । नेपालको कानुनले विवाह गर्नुअगाडि वा विवाह गरेपछि महिलालाई दाइजोको निहुँमा हेला गर्ने मानसिक तनाव दिने कार्यलाई अपराध मान्दै सजाय समेत तोकेको छ ।

Post a Comment

Previous Post Next Post