
धादिङको गजुरीमा हिजो मंगलबार दिउँसो भएको दुर्घटनामा परेर निधन भएकी महिलाको परिचय खुलेको छ । काठमाडौंबाट बेसीशहर आउँदै गरेको माईक्रोबस धादिङको गजुरीमा दुर्घटना हुँदा ज्यान गुमाएकी लमजुङको दोर्दी गाउँपालिका–९, धरैनीटोल स्याउतकी विमला सुनार रहेकी छिन् ।
मंगलबार भैरहवाबाट काठमाडौं जाँदै गरेको लु २ ख २६४४ नम्बरको यात्रुबाहक बस र काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रोबस पृथ्वी राजमार्गको गजुरीको बिहानी पम्प नजिक एकआपसमा ठोक्किएको थियो ।
उक्त दुर्घटनामा माइकोमा सवार लमजुङ दोर्दि गाउपालिका- ९ धरैनीटोल स्याउला बस्ने बिमला सुनारको उपचारको क्रममा मृत्यु भएको थियो । मृतकको शव अहिले गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको छ ।
माइक्रोमा सवार १४ जना घाइतेमध्ये एकको निधन भएको र बसमा सवार चार यात्रुहरूको सामान्य उपचारपछि डिस्चार्ज भएको छ । घाइतेमध्ये तीन जनाको मेडिसिटी अस्पताल काठमाडौंमा, तीनजनाको बिएण्डबी अस्पताल काठमाडौं, ६ जनाको ट्रमासेन्टर र एक जनाको ग्रिनसिटी अस्पतालमा उपचार भइरकेको छ ।