उपचारको क्रममा ११वर्षीय बालकको मृत्युपछि अस्पतालमा प्रदर्शन


छारे रोगको उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका घोराही उपमहानगरपालिका-३ का ११ वर्षीय आक्रोश नेपालीको बिहीबार उपचारका क्रममा मृत्यु भएपछि आफन्तहरुले प्रतिष्ठानमा प्रदर्शन गरेका छन् ।एमआरआई गर्ने क्रममा स्वास्थ्यकर्मीको लापर्बाहीका कारण बालकको ज्यान गएको आफन्तहरुको आरोप छ । 

अस्पतालको लापरबाहीका कारण बालकको ज्यान गएको भन्दै आफन्तहरुले अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका हुन् । छारे रोगका बिरामी नेपालीको स्वासप्रस्वासमा समस्या बढेर मृत्यु भएको प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले बताए ।

भेन्टिलेटरमा उपचार भइरहेका नेपालीलाई अक्सिजन सिलिण्डरसहित एमआरआई कक्षमा लगिएकोमा एमआरआईको चुम्बकले सिलिण्डर तानेपछि ठूलो आवाज आएको थियो । यसबाट बालकलाई असर परेको परिवारको दाबी छ । रजिष्ट्रार थापाले भने सिलिण्डरलाई चुम्बकले तानेको भए पनि बालकलाई कुनै पनि चोटपटक नलागेको बताए । ‘मृत्युमा मानवीय कमजोरी छैन,’ उनले भने,‘स्वास्थ्य समस्याकै कारण मृत्यु भएको हो ।’


यसअघि बुधबार घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा पनि घोराही उपहानगरपालिका–१४ की कमला बिकको मृत्यु भएपछि आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका थिए । बिकको मंगलवार राति किड्नीको पत्थरी शल्यक्रिया भएको र बुधबार बिहान मृत्यु भएको थियो । अस्पतालको लापर्बाहीले मृत्यु भएको भन्दै आफन्तले क्षतिपूर्तीको माग गरेका थिए ।

Post a Comment

Previous Post Next Post