
जापान अध्ययनका लागि गएर केही महिना अघिबाट जागिरे जीवन सुरुवात गरेकी एक नेपाली युवती टोकियोमा आफ्नै कोठामा मृत फेला परेकी छिन् ।४ वर्षअघि भाषा विद्यार्थीको रुपमा जापान गएकी कविता राजवंशी आफ्नै कोठामा मृत भेटिएकी हुन् ।
मोरङ बेलबारी नगरपालिका वार्ड नम्बर ९, डांगीहाट स्थायी घर भएकी कविता हानेदा इन्टरनेशनल एयरपोर्टको टर्मिनलमा कार्यरत थिइन् ।
जुन २८ तारिखबाट सम्पर्कविहीन बनेकी कवितालाई ४ दिनपछि जुलाई १ तारिख शनिवार टोकियो ओमोरीमा रहेको उनको कोठामा झुन्डिएको अवस्थामा मृत फेला पारिएको हो । जुन २७ तारिख कामबाट फर्किएपछि २८ तारिख सँगै काम गर्ने बलामी थरकी साथीसँग सामान्य कुराकानी भएपछि कविता सम्पर्कविहीन बनेकी थिइन् ।
तीन दिनसम्म बेखवर बनेपछि कम्पनी र उनका साथीहरूले खोजी गर्दै प्रहरीमा खबर गरेपछि कोठाको झ्याल फुटाएर भित्र पस्दा झुन्डिएको अवस्थामा मृत फेला पारिएको बुझिएको छ । मृतकको निकट एक साथीका अनुसार बेलाबखत कविताले काममा ’स्ट्रेस’ भएको बताउने गरेकी थिइन् ।
तर यतिसम्म दुखद घटना होला भनेर आफूहरूले कहिल्यै नसोचेको’ ती साथीले बताइन् । घटनाको प्रकृति हेर्दा कविताले आफ्नो मृत्यु आफैले रोजेको जस्तो देखिएको प्रहरीले बताएको छ । यद्यपि पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र मृत्युको कारण थाहा हुने प्रहरीले बताएको छ । दुखद घटनाको बारेमा नेपालस्थित परिवारजनलाई खबर गरिसकिएको बुझिएको छ ।