चक्कुको २० प्रहार, त्यसपछि ढुङ्गाकाे आघात : प्रेमीले गरिदिए १६ वर्षीयाकाे हत्या,

नयाँ दिल्लीमा किशोरीको हत्याको घटना सिसिटिभी फुटेजमा कैद भएको छ । राजधानीको शाहबाद डेयरी इलाकामा साहिल नामका व्यक्तिले १६ वर्षीया साक्षीको चक्कु र ढुङ्गा प्रहार गरी हत्या गरेका छन् ।

सिसिटिभी फुटेजमा देखिए अनुसार एउटा गल्लीमा भनाभनपछि साहिलले किशोरीलाई रोक्छन् र उनीमाथि अन्धाधुन्ध चक्कु हमला गर्छन् ।एक प्रत्यक्षदर्शीले प्रहरी अधिकारीलाई हमलाको जानकारी दिँदै तुरुन्त घटनास्थलमा आउन आग्रह गरे । अनुसन्धानपछि प्रहरीले घटनाबारे थप जानकारी पाएको छ ।

किशोरी हिँडिरहेका बेला अचानक साहिलले उनलाई रोकेको र चक्कुले अन्धाधुन्ध प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । यति गर्दासमेत चित्त नबुझेका उनले किशोरीलाई ढुङ्गाले समेत हमला गरे ।प्रहरी अनुसन्धानमा मृतकको पहिचान १६ वर्षकी साक्षी र आरोपीको पहिचान साहिल पुत्र सरफराजको रूपमा भएको छ ।

किशोरी जनकराजकी छोरी थिइन् । प्रहरीका अनुसार साहिल र साक्षी सम्बन्धमा थिए । तर आइतबार उनीहरुबीच झगडा भएको थियो ।त्यसपछि साक्षी आफ्नी साथी नितुको छोराको जन्मदिनमा सरिक हुन घरबाट निस्किएकी थिइन् । त्यति नै बेला साहिलले उनलाई गल्लीमा रोके । यी दुईबीच केही भनाभन भयो र हत्याको उद्देश्यले आएका साहिलले चक्कुले साक्षीमाथि हमला गरे ।

सिसिटिभी फुटेजमा आरोपीले साक्षीलाई चक्कु हानिरहेको स्पष्ट देखिन्छ । गल्लीमा मानिसको आवतजावत नभएको पनि होइन तर कसैले पनि उनलाई बचाउन खोजेनन् । साहिलले लगातार उनलाई हमला गरेर घटनास्थलबाट फरार भए । उता साक्षीलाई अस्पताल लगियो तर अस्पतालमा उनलाई मृत घोषणा गरिदियो ।

Post a Comment

Previous Post Next Post