दाङमा आमा धन कुमारी मगर र बाबा गणेश मगरको पहिलो सन्तानको रूपमा जन्म लिएकी गिभिना मगर हाल पोखराको, हेम्जामा बस्छिन्। सानै उमेरबाट समाज सेवा प्रति लगाव राख्ने गिभिना असहाय, दुःखी तथा वृद्धाहरूका लागि नयाँ जीवन जिउने आशाकी धरोहर हुन्।

उनि ७ वर्षको उमेरमै दाङबाट पोखरा आएकी हुन्। उनले विद्यालय जीवन देखि नै आफू पछि ठूलो भएर नर्सिङ पेसामा आबद्ध भई असहाय, दुःखी तथा वृद्धाहरूको सेवा गर्ने सपना बोकेकी थिइन्। घरको आर्थिक अवस्था कमजोर हुँदा उनको नर्सिङ पढ्ने सपना त्यहीँ समाप्त भएको थियो। उनले शिक्षा विषयमा पोखरा स्थित कालिका क्याम्पसबाट आफ्नो स्नातक तह पूरा गरेकी हुन्। +२ पढ्दा देखि नै शिक्षण पेसा अँगाल्दै आएकी गिभिना हाल पोखरा स्थित कुमुदिनी होम्स स्कूलमा पढाउँछिन् ।
उनको सानै उमेर देखि बचत गर्ने बानी थियो। उनि माटोको खुत्रुकेमा कसैले दिएको पैसा र आफ्नो खाजाको रकम जम्मा गर्ने गर्थिन्। सोही रकम आफ्नो जन्म दिनको अवसर पारेर विन्दवासिनी मन्दिरमा गई असहाय तथा वृद्धाहरूलाई खाने कुरा बाँड्ने काम गर्थिन् । उनि भन्छिन्, 'सोही कार्य नै मेरो पहिलो समाज सेवा प्रतिको लगाव थियो ।'
पहिला खाने कुरा बाँडेर खुसी साट्ने उनी करिब केही समय अगाडि सामान्य रूपमा एक बुबालाई 'मुठी डंङ गर्नु त बुबा' भन्दै केही रकम सहयोग गरेर सुरु भएको अर्को नयाँ सामाजिक सेवा प्रतिको पाटो आज सामाजिक संजालमा उहाँ बाट गरिएका सहयोगका कैयौँ भिडियोहरू भेटाउन सकिन्छ ।
आजसम्म उनले समाजका सरोकार वाला, विभिन्न संघ-संस्था र सहयोगी मनहरूसँग जोडिएर सयौं व्यक्तिलाई लाखौँ रकम सहयोग गरि सकेकी छन्। लगभग ६० जनाभन्दा बढी व्यक्तिहरूलाई उद्धार गर्दै मानव आश्रम सम्म पनि लगिसकेकी छिन्।
आफूले कमाएको पैसा समाज सेवामा त लगाउँछिन् नै हजुर आमाले उपहार स्वरूप दिएको सिक्री र आउ-जाऊ गर्ने स्कुटर समेत विक्री गरेर बिरामीलाई उपचार खर्च जुटाएकी थिइन्। विद्यालय जाँदै गर्दा बाटोमा बिरामी, असहाय देखेपछि उनी कहिले विद्यालय पुग्न ढिलाई त कहिले बाटो नै मोड्छिन् । उनीसँग कति बिरामी त उपचार गर्दा गर्दै मृत्यु भएको दुःख अनि तीतो अनुभव पनि छ । उनले १/२ म्युजिक भिडियोमा अभिनय पनि गरेकी छन्। उक्त म्युजिक भिडियोबाट आएको पैसा पनि एक बालिकाको शल्यक्रिया खर्चमा र इन्डियाबाट उद्धार गरेर आफैले ल्याई संरक्षण दिइरहेकी देविका तामाङको लागि खर्चिएकी छन्। धेरैभन्दा धेरै सहयोग गरि सकेकी गिभिनालाई साँच्चिकै देवीको अर्को रूपमा पनि चिन्न सकिन्छ ।
निःस्वार्थ भावना बोकेकी गिभिनालाई भविष्यमा अझ बढी समाज सेवा अनि आश्रम खोल्ने ठूलो धोको छ। असहायहरूका लागि सेवा साथै आवाज विहीनहरूका लागि आवाज भएर समाज सेवा गर्ने धोको छ। उनलाई स्टार्स फाउन्डेशन, कास्की नेपालले यस वर्षको स्टार्स समाज सेवी पुरस्कार २०७९ बाट सम्मान समेत गरेको छ ।