
तुलसीपुरको बसपार्कभित्र छ, सुन्दर टोल। नाम सुन्दर भए पनि यो टोलको बाटो निकै साँघुरो छ। मुस्किलले मानिस छिर्न मिल्ने सानो गल्लीमा २२ वर्षीय राजेश पुन बाटो देखाउन मेरो अगाडि लागे। एउटा घरमा पुगेपछि उनी माथिल्लो तला उक्लिए। जस्ता पाताको ढोका खोले।
भित्र १७ वर्षीया सुनिता बोहोरा एकहोरो ढोकातर्फ हेरेर चुपचाप पल्टिरहेकी थिइन्।सुनिता अरूको सहयोगबिना यताउति फर्किन पनि सक्दिँनन्। अरूले जता पल्टाइदियो, त्यतै पल्टिरहन्छिन्। दिसा-पिसाब ओछ्यानमै हुन्छ। त्यही भएर उनको शरीरमा घाउ आउन थालेका छन्। शरीर पाक्न थालेको छ।
अर्धचेत अवस्थाकी सुनितालाई राजेशले बाँकेको नेपालगञ्जस्थित न्युरो स्पेसियालिटी ट्रमा सेन्टरबाट माघ २७ गते बेलुका तुलसीपुर ल्याएका हुन्।‘उपचार गर्ने रकम अभाव भएपछि के गर्नु,’ राजेशले सेतोपाटीसँग भने, ‘त्यसैले अर्धचेत अवस्थाकी श्रीमतीलाई अस्पतालबाट निकाल्न बाध्य भएँ।
सल्यानको कुमाख गाउँपालिका-७ जिमालीका राजेश र सुनिताको जिन्दगी पाँच महिनाअघिसम्म पनि हराभरा थियो। प्रेमविवाह गरेका उनीहरूको जिन्दगीमा भर्खरै जन्मिएकी छोरीले नयाँ खुसी थपेकी थिइन्। कलिलैमा विवाह गरेका राजेश र सुनिता आफूसँगै सानी छोरीबारे पनि सपना देख्न थालेका थिए।
गत असोज १५ गते राजेश तुलसीपुरको एउटा पसलमा छोरीलाई न्याना लुगा, सुनितालाई कुर्ता सुरवाल र भाइलाई दसैंमा लगाउने नयाँ लुगा किन्दै थिए। गुल्मीमा सगुन कन्ट्रक्सनको स्काभेटर चलाउने राजेश दसैं मनाउन घर जाँदै थिए।
पसलमा लुगा छानिरहेका बेला उनको मोबाइल बज्यो। घरबाट दाइले फोन गरेका रहेछन्: बा र घरका अरू मान्छे चढेको गाडी दुर्घटना पर्यो, काइँला त कहाँ छस् छिटो आइज।
दाइको फोनले राजेशको होसहवास उड्यो। दुर्घटनामा श्रीमती सुनिता, छोरी रिया, भाउजु र भतिजा पनि परेको सुनेर उनका हातगोडा फतक्क गले। छानेका सामान नै नकिनी उनी बस चढे। बाटोभरि उनलाई गाडी निकै सुस्त हिँडिरहेको जस्तो लाग्यो।
जिल्ला अस्पताल खलंगा पुगे। श्रीमती र ३ महिनाकी छोरीलाई मात्रै त्यहाँ भेटे। अरू घाइतेको छुट्टै ठाउँमा उपचार भइरहेको रहेछ। सुनिता लम्पसार र अचेत थिइन्। छोरी छुट्टै कोठामा रोइरहेकी थिइन्।
डाक्टरले राजेशलाई टाढैबाट नियाल्न दिए। सुनिताको अवस्था गम्भीर थियो। डाक्टरहरूले सल्यानमा उपचार सम्भव नहुने बताए।केहीबेरमा उद्धारका लागि हेलिकोप्टर आयो। श्रीमती र छोरीलाई लगेर राजेश नेपालगञ्ज पुगे। त्यहाँ पनि उपचार सम्भव नहुने भनियो।
केहीबेरमा उद्धारका लागि हेलिकोप्टर आयो। श्रीमती र छोरीलाई लगेर राजेश नेपालगञ्ज पुगे। त्यहाँ पनि उपचार सम्भव नहुने भनियो।राजेशले बैंकमा राखेको सबै पैसा निकाले। श्रीमती र छोरीलाई लिएर लखनऊ गए।
तीन महिना लखनऊ बस्दा आफूसँग भएको पैसा सकिएपछि उनले आफन्त र छिमेक गुहारे, साहुसँग ऋण मागे। १९ लाख रुपैयाँ खर्च भएपछि उनले थप पैसा जुटाउन सकेनन्। अर्धचेत अवस्थाकी सुनितालाई उनले सल्यान ल्याए।