हार्दिक श्रद्धाञ्जली कठै अमेरिका उड्न लागेकी नर्स अनिताको अधुरै रह्यो अमेरिका जाने सपना

बुटवलको देवीनगर होराइजनचोकका ५६ वर्षिय रामचन्द्र रेग्मी उच्च रक्तचापको रोगी हुन् । उनकी श्रीमती ५५ वर्षिया सावित्रा रेग्मीलाई पनि उच्च रक्तचाप र मधुमेहको समस्या छ ।

डेढ वर्षअघि २०७८ असोज २० गते उनीहरुमाथि रोग भन्दा झन् ठूलो बज्रपात आइलाग्यो । अमेरिकामा जान टिकट लिइसकेर काठमाडौं जान घरबाट माइत आउने तयारीमा रहेकी छोरी अनिता रेग्मीको आफ्नै घरमा अचानक शंकास्पद मृत्यु भयो । बुटवल–१२ ढबाहास्थित घरमा २७ वर्षकी जेठी छोरीको रहस्यमय मृत्यु भएपछि रेग्मी दम्पति छोरी वियोगमा रोगमाथि थपिएको शोकले छटपटीमा बांच्न वाध्य छन् ।

छोरीको हत्या भएको दावी गर्दै रेग्मी परिवारले ६४ दिनसम्म शबको अन्त्येष्टी समेत नगरी आन्दोलन गरे । भिसेरा रिपोर्टमा अनिताको मृत्युको कारण शरीरमा विषादी पनि रहेको पुष्टि भएपछि अनिताको घरका ५ जना पुर्पक्षका लागि थुनामा गएपछि मात्र अन्त्येष्टी भएको थियो ।

मृतक अनिताका बुबा रामचन्द्रले घटना आत्महत्या नभई योजनावद्ध हत्या भएकाले सोही अनुसार निष्पक्ष नयाय भएर दोषीमाथि कानूनी कारवाही भए मात्र अनिता र आफूहरुले न्याय पाउने र पीडा कम हुने बताउंछन् ।

निर्दोष छोरीको अकालमै ज्यान गएपछि रेग्मी दम्पतीले औषधिको डोज बढाउनु पर्दा स्वास्थ्य अवस्था झन् कमजोर भएको दुःख सुनाउंछन् । घटना हुनु अघि भन्दा औषधिको डोज दोब्बर बढाएर खानुपर्दा मानसिक र शारीरिक अवस्था कमजोर भएको रेग्मी दम्पत्ति बताउंछन् ।

छोरी वियोगको पीडाले कैयौं रात नसुतेरै बिताएको आमा सावित्रा बताउंछिन् । अनाहकमा छोरी मारिएपछि रेग्मी परिवारको ध्यान आफूहरुले गर्दै आएको व्यवसायतिर पनि गएको छैन ।

एकातिर रोगले शरीर कमजोर छ,त्यसमाथि छोरी गुमेपछि पीडामाथि पीडा थपिएको छ’–सावित्रा भन्छिन्–‘न दिनमा भोक छ न रातमा निद्रा,१०– १५ वर्ष बढी बांचिन्थ्यो होला तर रोग र छोरीले न्याय नपाउने हो कि भन्ने पीरले चांडै मरिन्छ होला भन्ने चिन्ता छ, छोरीको ज्यान लिनेमाथि सजायं नभएसम्म हाम्रो मन शान्त हुन्न ।

अनिताकी बुबा रामचन्द्रले छोरीको घटना आत्महत्या नभई योजनावद्ध हत्या भएको दुई दर्जन भन्दा बढी आधार र प्रमाण रहेको दावी गर्छन् ।

उक्त घटना सुनियोजित हत्या हो भन्ने ‘प्रमाण’हरु जुटाएर मोटो किताब बनाई छोरीको न्यायका लागि सञ्चारमाध्यम र विभिन्न निकाय धाउंदै दिन बिताइरहेको सुनाउंछन् ।

छोरीको हत्या भएको हो, आत्महत्या हुंदै होइन’–रामचन्द्र भन्छन्–‘विषादी खुवाएर लठ्याएपछि दुई जना वा दुई जना भन्दा धेरै मान्छेले उठाएर झुण्डाएको हो,उनीहरुलाई कारवाही र न्यायको पखाईमा डेढ वर्षदेखि तड्पिंदै बांचेका छौं ।

सुमन खनालसंग २०७५ माघ ४ गते मागी विवाह गरेकी अनितालाई गहना (सुन) र दाइजोका कारण हत्या गरिएको रेग्मी दम्पतिको ठम्याई छ । घटनामा संलग्न रहेको अभियोगमा ५ जनाविरुद्ध किटानी जाहेरी परेकोमा मृतकका सासु शान्ता खनाल, देवर मनोज खनाल,मदन खनाल र सासुकी दिदीको छोरी रुपा घिमिरे पक्राउपछि थुनामा थिए ।

तर रुपा ३ लाख धरौटीमा रिहा भएकी छन् भने अनिताका श्रीमान् सुमन खनाल अमेरिकामा सम्पर्कविहीन छन् ।उनीहरुमाथि कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी परेको छ । रेग्मी दम्पत्तिले छोरीको सम्झनामा त्रिवेणी धाममा गएर लाख वत्ती जलाएर चित्त बुझाउने प्रयास गरे तर घटना मुटुमै गडेकाले निरन्तर वैचेनी हुने गरेको रामचन्द्र सुनाउंछन् ।

दुबै छातीमा किला गढे जत्तिकै पीडा छ,एउटा छातीमा छोरीको अर्को छातीमा छोरीको हतया गर्ने गडेजस्तो हुन्छ’–गहभरि आंशु झार्दै रामचन्द्र भन्छन्–‘कम्तीमा योजनावद्ध हत्या गर्नेलाई कानुन अनुसार सजायको फैसला भए भने मात्र छातीमा गडेको किला निस्केर राहत र न्यायको अनुभूति हुने थियो ।

विषादी सेवन गराई लठ्याएर झुण्ड्याई हत्या गर्ने घटनाहरु बढेका तर पोष्टमार्टम रिपोर्टमा झुण्डिएको मात्रै देखिने गरेकाले आफूहरुले भिसेरा जांच समेत गराउंदा शरीरमा फस्फाइन नामक विषयुक्त ग्यास रहेको पुष्टी भएकाले यो मुद्दामा निष्पक्ष फैसला भई अनिताले न्याय पाउनुपर्ने परिवारको माग छ ।

विधि विज्ञान प्रयोगशालाको भिसेरा रिपोर्ट अनुसार अनिताको पेट,मिर्गौला र कलेजोमा फस्फाइन नामक विषादीयुक्त ग्यास रहेको पुष्टी भएको छ । प्रहरीका अनुसन्धान अधिकृतहरुका अनुसार कुनै पनि व्यक्तिले आत्महत्या गर्दा दुई वटा विधि प्रयोग गर्दैन, एउटै मात्र गर्छ । तर यो घटनामा विषको प्रयोग र झुण्डिएको देखिनुले आत्महत्या नभई हत्या गरिएको आशंकालाई धेरै बल पुगेको छ ।

Post a Comment

Previous Post Next Post