
दैलेखको भगवतीमाई गाउँपालिका ३ मेतलपाटाका वीरेन्द्र खड्का जन्तीसहित दुलही लिन शनिवार छिमेकी जिल्ला जाजरकोटको छेडागाड नगरपालिका ४ खातीजेवा पुगेका थिए ।
माइतीघरमा आइतवार बिहानैदेखि बिहेको कर्मकाण्ड चलिरहेको थियो । दिउँसो भोज खाइवरी सबै जना आ–आफ्नो घरतर्फ लाग्दै थिए । जन्ती पनि फर्कने तयारीमै थियो । बिहेको माहोलमा सबै रमेका थिए ।दुलही सम्झना बुढाका भिनाजु दीपक अधिकारी अघिल्लो दिन गाउँले युवाहरूबीच भएको झडपमा परी घाइते भएका थिए ।
बिहेका कारण उपचारमा जान पाएका थिएनन् । दीपकलाई चोटका कारण असजिलो भइरहेको थियो । जब बिहे सकिन थाल्यो, त्यही जन्ती लिने गाडीले उनलाई नजिकको थलह स्वास्थ्यचौकी पुर्याइदिने सल्लाह भयो । गाडीमा दीपकसँगै श्रीमती नैनसरा र उनका पाँच वर्षीया छोरी निशा पनि चढे ।
बिहेबाट फर्कँदै गरेका अन्य गाउँले, आफन्तहरू पनि त्यही मौकामा गाडी चढे । बिरामीसहित ११ जना यात्रु बोकेको गाडी अस्पताल नपुग्दै मध्यपहाडी राजमार्गको भीरपाटी भन्ने स्थानमा सडकबाट झण्डै २५० मीटर तल खस्यो ।
दुर्घटनास्थल दुलहीको घरबाट दुई किमी टाढा पर्दछ । कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चालकसहित १० जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भयो ।