
बाँकेको कोहलपुरस्थित गेस्ट हाउसमा एक युवक मृत अवस्थामा फेला परेका छन् । कोहलपुर नगरपालिका वडा नम्बर – ११ बसपार्क पछाडी रहेको होटेल पुर्ब पश्चिम गेस्ट हाउसमा विशाल सिंह मृत अवस्थामा फेला परेका हुन् ।
कोहलपुर नगरपालिका वडा नम्बर – ६ घर भएका विशाल सिंह नामका युवकले सोमबार राती बर्थडे मनाउन होटेल पुर्ब पश्चिम गेस्ट हाउसमा रुम लिएर बसेका थिए । उनी मंगलबार बिहान मृत अवस्थामा भेटिएको प्रहरीले बताइएको छ ।
भारतको कारगिलबाट घर जाने भनेर विशाल र उनका साथी विजय कुमार सिंहसंगै हिँडेका थिए । मृतकसँगै आएका विजय सिंहका अनुसार कोहलपुर आएपछि आफ्नो जन्मदिन मनाउने भनेर कोहलपुरको पुर्बपश्चिम होटेलमा रुम लिएर बसेका थिए ।
रुममा ‘दारुपार्टी’ चलेको उनका साथीहरुले बताएका छन् ।दारु(रक्सी)कै कारण निजको मृत्यु भएको हुनसक्ने प्रहरीले आशंका गरेपनि थप अनुसन्धान भने जारी रहेको प्रहरीले जनाइएको छ ।
मृतक विशालले आफ्ना अरु दुई जना साथी सुदीप सुनार र सुशील शाहीलाई बोलाई जन्मदिन मनाएको विजय सिंहको भनाई छ । जन्मदिन मनाएर राती करिब १ बजेतिर सुतेका विशाल बिहान उठाउँदा नउठेपछि होटेल सञ्चालक जय बहादुर नाथलाई बोलाइएको उनको भनाई छ ।
होटेल सञ्चालक नाथका अनुसार बिहान तीन पटक उठाउन जाँदा नउठेको र पछि उनीहरुसँगै सुतेको एक जनाले डाक्टर बोलाउनु पर्यो भन्दा होटेल सञ्चालक झस्किएका थिए ।
विशाल मृत भेटेपछि आफुले प्रहरीलाई खबर गरेको नाथले बताए ।प्रहरीले मृतकसँगै बसेका अन्य तीन जनामाथि अनुसन्धान अगाडी बढाएको ईलाका प्रहरी कार्यलय कोहलपुरका प्रमुख डिएसपी ऐन बहादुर मल्लले जानकारी दिनुभयो ।