
तिलोत्तमा — रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–भैरहवा सडक खण्डको तिलोत्तमा–५
मणिग्रामस्थित सडक किनारको रेलिङमा ठोक्किएर मंगलबार राति मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।दुर्घटनामा शुद्धोधन गाउँपालिका–६ का २४ वर्षीय गजेन्द्र साहनी र पछाडि सवार सियारी गाउँपालिका–२ का २६ वर्षीय वृजेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
बुटवलबाट भरहवातर्फ जाँदै गरेको लु ४७ प ३६१४ नम्बर को मोटरसाइकल रातको साढे १ बजे दुर्घटनामा परेको थियो । तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई रेलिङमा ठोक्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
Tags:
News