जब उनी बाकसमा फर्किए...

महोत्तरीको बर्दिबास नगरपालिका–१२ बिजलपुरका धनवीर महतो दुई वर्षअघि मलेसिया जान लाग्दा छोरी आशिका खासै बुझ्ने भइसकेकी थिइनन्। भर्खर बोल्न सिक्दै गर्दा धनवीर बिदेसिए। ऋणको भारीले थिचिएका घरपरिवारका लागि बिदेसिनुपर्ने उनको बाध्यता थियो।

आशिका बुझ्ने भएपछि धनवीरलाई पप्पा (बुवा) भनेर खोज्न थालिन्। त्यतिबेला उनलाई मोबाइलमा भिडियो कलबाट धनवीरलाई देखाएर फकाइन्थ्यो। आशिकासँग हरेक भिडियो कलमा धनवीरको ढाडस हुन्थ्यो, ‘आब चइल एबै बेटा, तोराले कथी आइनदेव’ (अब आइहाल्छु छोरी, तिम्रो लागि के ल्याइदिनु)।

बिदामा कोसेलीहरू लिएर घर फर्किने वाचा गरेका थिए धनवीर।तर, धनवीरले आफ्नी छोरी आशिकाको मात्रै हैन घरपरिवारका सदस्यहरूसँग गरेका वाचा पूरा गर्न सकेनन्। धेरै सपनाहरू बुनेर ऋणको भारीमाथि झन् ऋण काढेर बिदेसिएका धनवीर कात्तिक २९ गते मलेसियामा सदाका लागि अस्ताए। 

कम्पनीमा मेसिन चेक गर्ने बेला अकस्मात मेसिन चलेपछि त्यसमा च्यापिएर उनको मृत्यु भयो। जहाजमा उडेर मलेसिया पुगेका धनवीरको शरीर मंसिर ९ गते बन्द बाक्समा घर ल्याइयो। धनवीरलाई आमनेसामने मज्जाले पप्पा (बुवा) भन्ने आशिकाको चाहना तुहियो।

आशिका र घरपरिवारलाई धनवीरले बाँडेका आश्वासन र देखाएका सबै सपना चकनाचुर भए। चार वर्षकी आशिका बुवाको दागबत्ती दिएर कात्रो लगाएकी छिन्। धनवीरकी श्रीमती विमल पनि अचेत अवस्थामा छिन्। एकोहोरो हेरिरहन्छिन्। टोलाइरहन्छिन्।

Post a Comment

Previous Post Next Post